“ईन्जिनियर साथीहरुलाई खुल्ला पत्र”
“बौद्धिक शिक्षा ले हाम्रो मस्तिष्कमा प्रभाव पार्छ, नैतिक मूल्य र मान्यतामा आधारित शिक्षा ले चाही मनलाई नै प्रभावित पार्न पुग्छ|” - शिब खेडा
प्रिय ईन्जिनियर साथीहरु
नेपाल बिधुत प्राधिकरण
म आज यो पत्र तपाईहरु लाई नै लेख्न चाहन्छु, अनुरोध गर्न चाहन्छु किनभने तपाईहरुको हातमा यो देश को भबिश्य लुकेर बसेको छ| तपाईहरुसंग ज्ञान सिप अनि जोश जागर ले भरिपुर्ण युवा शक्ति छ| अधिकार ले सम्पन्न छौ| चाहने हो भने दक्षिण बगेको खोला लाई उत्तर बगाउन सक्ने सामर्थ्य छ| मैले मात्र तपाईहरुको ईच्छा शक्ति लाई थोरै घच्घच्याउन खोजेको| गल्ति भय माफी पाउने आशा ब्यक्त गर्दछु|
उर्जा को सबैभन्दा सस्तो, भरपर्दो, सजिलो र सफा श्रोत हो जलबिधुत| नेपालमा करिब छ हजार नदि नाला तथा खोलाहरु बग्दछन्| बिश्व उर्जा को २.२ प्रतिशत क्षमता नेपालमा रहेको देखिन्छ| देश बिकाश को प्रमुख श्रोत जलबिधुत हो भन्दा फरक नपर्ला|
नेपाल मानचित्रको उत्तर पश्चिम मा अबस्थित दुर्गम हिमाली जिल्ला मुगु, मानब शुचांक को हिसाब ले ७२ औ जिल्लामा पर्दछ| जहाँ नेपालको ठुलो राराताल, बिश्व का चार नाथ मध्ये एउटा छायानाथ, यार्सागुम्बा र तामाखानी जस्ता बहुमुल्य प्राकृतिक सम्पति रहेका छन्| प्राकृतिक सम्पति ले भरिपुर्ण र जैविक बिबिधता को धनि जिल्ला मुगु भएर पनि मुगु बासी लाई बार्षिक आम्दानी बाट छ महिना भन्दा धेरै खान पुग्दैन| यहाँ का अधिकांस युवा भारत, मलेसिया, कतार जस्ता देश मा पलायन भएको देखिन्छ| कुनै पनि उद्धोग धन्दा स्थापना नहुनु, व्यापार ब्यबसाय को बाताबरण नबन्नु, बजार को अभाव, राजनीतिक सुन्यता तथा भौगोलिक कठिनाइ ले गर्दा बेरोजगारी तथा गरिबी ले सिमा नाघेको देखिन्छ|
मुगु जिल्ला को बीच भाग भएर बग्ने मुगु कर्णाली जसको उर्जा क्षमता ४०० मेगावाट भन्दा धेरै रहेको विभिन्न समयमा भएका सर्वे ले देखाउछ| यदि यसबाट बिधुत उत्पादन गर्न सक्ने हो भने राज्य ले उल्लेख्य मात्रामा फाईदा लिन सकिने र यस क्षेत्र को विकास मा महत्वपूर्ण उपलब्धि हुने देखिन्छ| देश विकास हुनुमा आफ्नो पनि उल्लेख्य भूमिका रहेको सम्झने यस क्षेत्र का बासिन्दालाई राज्य ले भने सौतेनी व्यवहार गरेको स्पष्ट देखिन्छ| देश को समग्र विकास गर्न को लागि बातावरण अनुसार को विकास नै आजको प्रमुख आबश्यकता हो| मुगु को भौगोलिक बनावट ले जडिबुटी खेति, पर्यटकीय क्षेत्र को विकास र जलबिधुत उत्पादन, यी तिन क्षेत्र को राम्रो भबिष्य देखिन्छ| अतह आउदा दिनमा मुगुको उर्जा शक्ति लाई प्रस्फुटन गराउन तपाईहरुले सक्दो भूमिका खेल्नुहुनेछ भन्ने आशा राख्दछु| होईन भने बाकसभरि सुन छ कान मेरो बुच्चै भनेझै अवस्था को भागीदार हुनुभन्दा अन्य उपाय देखिदैन|
दश बर्ष को उताब चडाव पछी बल्ल तल्ल २०६८ असोज बाट मुगुमा ४०० किलोवाट क्षमता को बिधुत गृह संचालनमा आयो| यसको सामान्य जानकारी यस्तो छ: हेड-८४ मिटर, डिस्चार्ज-६८० लिटर, बार्षिक इनर्जी-२७ लाख ६५ हजार यूनिट, बाध-वेयर, टाईरोलियन किसिमको उर्ध्व मुखी इन्टेक, करिब १७५५ मिटर लामो नहर, फोरबेको पानी सतह-१९९५ मिटर, पेनस्टक-१७१ मिटर लम्बाई ६० सेन्टिमिटर ब्यास, दुई वटा टर्गो टर्वाईन २*२०० किलोवाट क्षमताको र दुई वटा जेनेरेटर (ब्रस्लेस इक्साईटेसन)-२*२५० के.भी.ए.|
“तपाई कति खानु हुन्छ? त्यो महत्वपूर्ण हैन| तपाई पचाउन कति सक्नुहुन्छ त्यो चाही महत्वपूर्ण हो|” सैदान्तिक रुपमा माथि उल्लेख भए अनुसार भए पनि प्राबिधिक रुपमा औसत १७० किलोवाट मात्र बिधुत उत्पादन हुन्छ भनेर स्वयम प्राधिकरण कै कर्मचारी बाट सुनिन्छ| जाडो मौसम मा अत्याधिक लोड ले बत्ति जान थाल्छ अनि गमगढी बासी एकापसमा छलफल गर्ने गर्छन, ४०० कि.वा. क्षमता भएर पनि किन बिधुत नपुगेको होला? कुनै दिन यस्तै प्रश्न मेरो कानमा परेको थियो, मैले थाहा पाएअनुसार सजिलै भने क्षमत जे जस्तो भए पनि अहिले गमगाढ जलबिधुत को क्षमता १७० कि.वा. भन्दा बढी छैन| यस्तो उत्तर सुन्दा गमगढी बासी को मनमा बज्रपात परेको आभास हुन्छ| मैले बुझे सम्म दुई वटा जेनेरेटर लाई सिन्क्रोनाईज गर्न नसकियकोले एक समयमा एउटा मात्रै युनिट संचालन गर्न सकिन्छ| तसर्थ सोझो हिसाब मा भन्ने हो भने कुल क्षमता २०० कि.वा. मात्रै छ| तसर्थ इन्जिनियर साथीहरुको सोच तेता तिर पनि जानु जरुरि देखिन्छ| तपाईहरुको सानो प्रयास ले हजारौ मुगु बासी ले उज्यालो पाउने थिए| तपाईहरु सहर केन्द्रित मात्र नभएर दुर्गम जिल्ला मा जान चाहने हो भने त्यस्ता समस्या लाई केहि उपाय दिन सकिन्छ कि? जस्तो कि उचित मर्मत सम्भार वा दुईवटा युनिट लाई छुट्टाछुट्टै ट्रान्समिसन् को व्यवस्था| तपाईहरुको युवा जोश डिजिटल प्रबिधि युक्त सब-स्टेसनमा सिथिल भएर मात्र बस्नु भन्दा, ठुला बिधुत गृह को मुग्दर्शक हुनु भन्दा दिर्गम जिल्लाको विकास मा पनि लगाए त्यस क्षेत्र को ठुलो उपकार हुनेछ, तपाईहरुको मन ले सन्तुष्टि पाउनेछ| तपाईहरुको वास्तविक क्षमताको पहिचान हुनेछ|
यो संसार तिम्रो धारणा ले मात्र चल्दैन, संसर त तिमीले काम गरेर देखाउन सकेको खण्डमा मात्र चल्न सक्छ| पोर्चुगिज आर्टिस्ट पाउलु कोएलो ले भनेझै तपाईहरु भित्र रहेको अथाह धारणा लाई काम मा परिवर्तन गर्ने बेला आईसकेको छ| तपाईहरु ले जग बसाल्न जरुरि छ होईन भने जिबन मा केहि गर्ने आशा बोकेरै मर्नु भन्दा उपाय छैन, जुन जिबनको सबैभन्दा दुखद पक्ष हो|
गमगाढ बिधुत ३ वटा गाबिस पिना, श्रीनगर र कार्किवाडा तथा केहि भाग रुगा र रारा गाबिस मा विस्तार गरिएको छ| अफ आवर मा औसत लोड ५० कि.वा. तथा पिक आवर मा औसत १५० कि.वा. मात्र छ रे, तसर्थ अत्याधिक बिजुली खेर गैरहेको अवस्था छ| अर्को तिर सदरमुकाम देखि नजिक को गाउँ मा पनि बिधुत आपूर्ति हुन् सकेको छैन| टाढा किन जानु सदरमुकाम संग जोडीएको रुगा गाबिस कै कुरा गरम| रुगा गाबिस को सुन्दर गाउँ नेपालकी मेस्सी अर्थात् सुनकली बुढा को जन्मथलो बाम गाउँमा माईक्रोहाईड्रो निर्माण को लागि उर्जा तथा बातावरण शाखा मुगु बाट ६० लाख भन्दा धेरै खर्च भैसक्यो रे, निर्माण सामग्रीहरु २ बर्ष देखि अलपत्र छन्, न पैसा बचेको छ न काम नै अघि बढ्न सकेको देखिन्छ| स्थानीय जनता लाई भ्रम मा राख्ने काम मात्रै भएको छ भन्दा फरक नपर्ला| तसर्थ उक्त लगानी ट्रान्समिसन्/डिस्ट्रिब्युसन मा खर्चेको भए बाम गाउँ २ बर्ष पहिले नै झिलिमिली भैसक्थ्यो होला| तर बिडम्पना सधै दाउरा को कालो मुस्लो संग लड्न बाध्य छन्| मुगुमा अहिले पनि १९ भन्दा बढी माईक्रोहाईड्रो बिग्रेको अवस्था मा छन्| प्राबिधिक जनशक्ति को अभाव ले गर्दा मुगु मा माईक्रोहाईड्रो प्रणाली सफल भएको देखिदैन| सानो लगानी मा निर्माण हुन्छन, जब एक पटक बिग्रिन्छन मर्मत को लागि बुटवल वा काठमाण्डौ बाट प्राबिधिक झिकाउनु पर्ने हुन्छ, जसको खर्च अत्याधिक हुने भएको हुदा बनाउनु भन्दा त्यत्तिकै थन्क्याउनु पर्ने बाध्यता रहेको छ| तसर्थ यो देश मा कोई त होला जसले हाम्रो पिडा बुझेर ४०० कि.वा. उत्पादन गरि विस्तार गर्न अहम भूमिका खेल्ने छ भन्ने प्रतिक्षा मा बसेका छन् मुगाली जनता| पढाई र डिग्री नै शिक्षित् हुनुको अनिबार्य आधार हुनैसक्दैन| सभ्य, समझदार, असल विचार अनि व्यवहारका व्यक्तित्व हरु नै बास्तबमा शिक्षित् हुन्| तपाईहरु को सानो प्रयास ले त्यस क्षेत्र को ठुलो परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्नु हुनेछ भन्ने अपेक्षा राख्दछु|
अज्ञात ले भनेका छन्:”तपाई बास्तबमै आफु सफल हुन चाहनुहुन्छ? त्यसो भए ती काममा बानी बसाल्नुहोस जुन असफल मान्छेहरु गर्न चाहदैनन्|”
त्यसैले सुविधाभोगी जिबन लाई केहि बिश्राम दिएर दुर्गम विकास मा लाग्नु हुनेछ भन्ने विश्वास ब्यक्त गर्न चाहन्छु|
उही तपाईहरुको प्रिय मित्र
नरेश दत्त रावल (ndrawal2@gmail.com)